दफा १६
सजाय –
(१) कसैले दफा ४ विपरीत कसैलाई कमैया श्रमिकको रुपमा काममा लगाएमा मुद्दा हेर्ने
अधिकारीले त्यस्तो व्यक्तिलाई पन्ध्र हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गरी
त्यसरी काममा लगाएको प्रत्येक दिनको यस ऐन बमोजिम निर्धारित न्यूनतम ज्यालादरको दोब्बर
रकम त्यस्तो काम लगाउने व्यक्तिबाट काम गर्ने व्यक्तिलाई भराई दिनेछ ।
(२) कसैले दफा ७ बमोजिम बन्धक वा जमानत लिएको सम्पत्ति फिर्ता नगरेमा मुद्दा हेर्ने
अधिकारीले त्यस्तो व्यक्तिलाई दश हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना गरी सो
सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गराई दिनेछ ।
(३) कसैले दफा १३ बमोजिम ज्याला नदिई वा न्यूनतम भन्दा कम ज्याला दिई कसैलाई
काममा लगाएमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई एक हजार रुपैयाँदेखि तीन हजार
रुपैयाँसम्म जरिवाना गरी त्यसरी काममा लगाएको प्रत्येक दिनको यस ऐन बमोजिम निर्धारित
न्यूनतम ज्यालादरको दोब्बर रकम त्यस्तो काम लगाउने व्यक्तिबाट काम गर्ने व्यक्तिलाई भराई
दिनेछ ।
(४) कसैले यस ऐन विपरित भएको काम कारवाहीको जाँचबुझको सिलसिलामा कसैलाई
बाधा विरोध गरेमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि दशहजार
रुपैयाँसम्म जरिवाना गर्नेछ ।
(५) कसैले उपदफा (१), (२), (३) र (४) मा लेखिएदेखि बाहेक यो ऐन र यस ऐन
अन्तर्गत बनेका नियम विपरीत अन्य कुनै कार्य गरेमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई
एक हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।
(६) कसैले जानीजानी वा कसैलाई दुःख दिने नियतले झुट्ठा उजुर दिएमा मुद्दा हेर्ने
अधिकारीले त्यस्तो व्यक्तिलाई एक हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।
(७) उपदफा (१), (२), (३), (४), (५) र (६) बमोजिमको काम गर्ने व्यक्ति सार्वजनिक
लाभको पद धारण गर्ने पदमा भएमा वा यस ऐन विपरीत काम गरी सजाय पाइसकेको व्यक्तिले
पुन सोही काम गरेमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सो उपदफामा लेखिएको सजायको
दोब्बर सजाय गर्नेछ ।